काठमाडौं, १९ चैत । कोरोनाभाइरस संक्रमणको रोकथामका लागि नेपाल र भारत दुवै देशमा लकडाउनको घोषणा गरिएका कारण सीमानाकाहरूबाट सामान आयातमा गिरावट आएपनि दैनिक आवश्यक पर्ने खाद्यवस्तु, तरकारी, खाना पकाउने ग्यासजस्ता सामग्रीहरू भने आयात भइरहेको अधिकारीहरूले बताएका छन् ।
पूर्वदेखि पश्चिमसम्मका सबैजसो ठूला नाकाबाट अन्य सामानको आयात भने ठप्प जस्तै रहेको उनीहरूको भनाइ छ ।
कोरोनाभाइरसको संक्रमण देखिएपछि त्यसलाई रोकथाम गर्न नेपाल र भारत दुवै देशले ’लकडाउन’ गरेका छन्। जसका कारण सीमानाकाहरूबाट मानिसको आवतजावत पूर्ण रूपमा बन्द छ ।
तर अधिकांश प्रमुख नाकाहरूबाट मालबाहक सवारीसाधन भने निर्वाध रूपमा आवतजावत भइरहेको अधिकारीहरूको भनाइ छ ।
सामान्य अवस्थामा जस्तो सबै वस्तुहरू आयात नभएपनि खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरू भने आयात भइरहेको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले बताए । उनले अन्न, खाद्यान्न, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ र औषधि आइरहेको बताए ।
पछिल्लो समयमा मेची भन्सारबाट तरकारीको उल्लेखनीय आयात भइरहेको बताइएको छ । त्यस्तै वीरगञ्जबाट औषधी र भैरहवाबाट ग्यास सामान्य अवस्थामा भन्दा बढी आयात भइरहेको बताइएको छ ।
तर भन्सार कार्यालयहरूले विगतको तुलनामा अन्य सरसामानको आयात निकै कम भएको जनाएका छन् । फलस्वरूप लकडाउन यता राजश्व संकलन भने ठूलो परिमाणमा घटेको अधिकारीहरू बताँउछन् ।
तपाईको प्रतिक्रिया