लोकतान्त्रिक गणतन्त्रको स्थापना सबैभन्दा ठूलो उपलब्धिः अध्यक्ष यादव

समाचार

11/22/2020

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व भीमप्रसाद गौतमको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले जबसम्म मूल्य र मान्यतामा आधारित राजनीति नभएसम्म देश र जनताको हित हुन नसक्ने बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, ‘राजनीति आदर्श र लक्ष्यप्रति केन्द्रित नभएसम्म त्यो राजनीतिले देश र जनताको हित गर्न सक्दैन । त्यो राजनीति नभएर एक खालको पेशा हो ।’ उनले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै मुलुकलाई सामाजिक आर्थिक रुपान्तरणबाट अगाडि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको औँल्याए ।

अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्य नेपालको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि रहेको चर्चा गर्दै यस उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताए ।


लोकतान्त्रिक मूल्य, मान्यता, विधि र प्रक्रियाबाट शासन प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक शक्ति र संस्था कमजोर हुँदै गएकाले वैचारिक सिद्धान्त र आदर्शका कुरामा पनि ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष यादवले जनताको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहेका स्व गौतमको निधनले देशलाई अपूरणीय क्षति पुगको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ