लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष र उपाध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन जसपाको आग्रह

समाचार

9/14/2020

काठमाडौं, २९ भाद्र । लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष तथा उपप्राध्यापक डा.उदयकिशोर तिवारी र उपाध्यक्ष तथा सहप्राध्यापक गीता श्रेष्ठमाथि लगाइएको मुद्दा फिर्ता लिन जनता समाजवादी पार्टी नेपालले माग गरेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले सोमबार एक विज्ञप्ति जारी उपप्रधाध्यापक डा. तिवारी र सहप्राध्यापक श्रेष्ठविरुद्ध दायर गरिएको मुद्दा फिर्ता लिई वार्ता र सम्वादको माध्यमले समस्याको उचित समाधान गर्न आग्रह गरेका हुन् ।

डा.तिवारीको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रेजिष्ट्रारको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको थियो । सोही तालाबन्दीको विरुद्धमा त्रिवि प्रशासनकै इशारामा आफूविरुद्ध मुद्दा दर्ता गरिएको आरोप उनले लगाएका छन् ।

मुलुकको समृद्ध र समाजिक न्यायको लागी हुने गरेको सम्पूर्ण शान्तिपूर्ण आन्दोलनमा प्राध्यापकहरुले पनि राजनीतिक शक्तिसंग सहकार्य गर्दै आफ्नो भूमिका पेशागत इमान्दारिता र लगनशिलताका साथ निर्वाह गर्दै आइरहेका छन् ।

मुलकको उच्च शिक्षाको प्रमुख दायित्व बोकेको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय भैरहेको अनियमितता, राजनीतिकरण एवं असमावेशी नियक्तिहरुको विरुद्धमा तालाबन्दी गर्न बाध्य भएको उनी बताउँछन् ।

वर्तमान सरकारवाट मान्य समावेशी सिद्धान्त विपरित नियुक्त त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरुपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषन र चिन्तनको थलोभन्दा विसंगतीपूर्ण वर्चस्ववादी मानसिकताको खेल मैदान बन्दै जान् दुःखद भएको ठाकुरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ नेपालले त्रि.वि.लाई प्राज्ञिक सशासन र बौद्धिक शोषण रहितको केन्द्र बनाऔं भन्ने उदघोषका साथ प्राज्ञिक, शैक्षिक एवं प्रशासनिक पदको नियुक्ति नेपालको संविधानको मर्म र भावना अनुसार समानुपातिक समावेशी रुपमा गराउन दबावमुलक कार्यक्रम गर्दै आएको छ ।

‘तर संबादवाट सामाधान खोज्नुपर्ने प्रक्रियातर्फ भन्दा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ लगायत प्राध्यापकहरुको नेतृत्व प्रति वदनियतपूर्ण मनसाय राखेर मुद्दा दायर गर्ने कार्यले द्वन्द झनै बढने देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको केन्द्रीय अध्यक्ष उपप्रा. डा. उदय किशोर तिवारी र उपाध्यक्ष सहप्रा. गीता श्रेष्ठ माथीको मुद्दा अबिलम्ब फिर्ता लिएर वार्ता र सम्बादको माध्यमवाट समस्याको उचित सामाधान गर्न जनता समाजवादी पार्टी, नेपाल सरकार एवं त्रि.वि. प्रशासन समेतलाई आग्रह गर्दछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ