वीरगञ्ज, २ बैशाख । वीरगञ्जबाट १ हजार ४ सय ८८ एम्पुल लागुऔषधसहित एकजना भारतीय युवक र गाँजासहित एक १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट लागुऔषधसहित भारतको बिहार मोतीहारी जिल्लाको रक्सौलका २५ वर्षका भोला दासलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले ती युवकको शरीर चेकजाँच गर्दा उनको साथबाट झोलाभित्र लुकाइछिपाई ल्याएको लागुऔषध डाईजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र नुर्फिन ४ सय ९६ एम्पुल गरी १ हजार ४ सय ८८ एम्पुल लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
यस्तै वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित प्रहरी टोलीले १४ वर्षीय बालकलाई प्रतिबन्धित गाँजासहित पक्राउ गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएका ती बालकको साथबाट उनको शरीरमा प्लाष्टिकको पेटी बेरेर लुकाइछिपाइ ल्याइएको २ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका भारतीय युवक र बालकलाई लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।
तपाईको प्रतिक्रिया