कपिलवस्तु, ४ जेठ । लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल) द्वारा कपिलवस्तु अस्पताललाई पाँच लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।
संस्थाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अतहर कमालले कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बन्जाडे र व्यवस्थापक रत्नाकर शुक्लालाई ५ लाखको चेक हस्तान्तरण गरिएको हो ।
करात च्यारिटी र लिडो सहयोगमा उक्त रकम सहयोग गरिएको हो । कोभिड विरामीको उपचार खर्च तथा अक्सिजन व्यवस्थापनको सहजताका लागि रकम दिइएको अध्यक्ष कमालले बताए ।
सरकारबाट अस्पताल व्यवस्थापन तथा उपचारमा उदासीनता देखिन लागेपछि सामाजिक संस्था र व्याक्तिगत रुपमा नै अस्पताललाई सहयोग गरी विरामीको ज्यान जोगाउने क्रम चलेको समेत अध्यक्ष कमालले बताए ।
विभिन्न स्थानीय तह, सामाजिक संस्था तथा सारेकारवालाको सहयोगमा कोभिडका बिरामीको उपचारमा सहजता तथा स्रोत व्यवस्थापन गर्न केही हदसम्म सहजता भएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. किशोर बन्जाडेले बताए ।
चेक हस्तान्तरण समारोहमा संंस्थाकी कार्यक्रम संयोजक सुनिता बेल्वासे लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया