काठमाडौं, ७ बैशाख । केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने बताउँदै आएका जनता समाजवादी पार्टी नेपालका दोस्रो नम्बरका अध्यक्ष उपेन्द्र यादवलाई लुम्बिनी प्रदेशमा ठूलो झट्का लागेको छ ।
पूर्वसमाजवादी र पूर्वराजपाका शीर्ष नेताहरुको दुई विचारधाराको प्रभाव प्रदेशसम्म देखिएको छ । ओलीको सरकारबाट उपेन्द्र यादवको अपमानजनक बहिर्गमनको बदला भावले उनी जसरी ओलीको बहिर्गमनमा लागेका छन् ।
ओली सरकारले अहिले महन्थ ठाकुर र राजेन्द्र महतोको सक्रियतामा मधेशका मागहरु सम्बोधन गर्ने देखिएपछि उपेन्द्रको हतास मानसिकता उजागर भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
उपेन्द्र आफू सरकारमा लगभग एक वर्षसम्म रहँदासम्म मधेशको माग सम्बोधनका लागि कुनै पनि पहल गरेनन् तर जब बहिर्गमन भयो अनि आफूलाई ठूलो क्रान्तिकारी देखाउन थालेको आरोप नलागेको होइन ।
प्रधानमन्त्री ओलीले यदि अहिलेको अवस्थामा जसपाका मागहरु सम्बोधन गरे भने त्यसको पूरापूर श्रेय महन्थ ठाकुर र राजेन्द्र महतो अर्थात् पूर्वराजपालाई जाने देखेर उपेन्द्रले केन्द्रदेखि प्रदेशसम्म ओली समूहका विरुद्धमा लाग्न आफ्ना खेमाका नेता कार्यकर्ताहरुलाई निर्देशन नै दिएका छन् ।
लुम्बिनी प्रदेशमा पूर्वसमाजवादीका पाँच जना सांसद छन् भने पूर्वराजपाका एक जना । त्यहीं एकजना सांसद उपेन्द्रको मिसन पूरा हुन दिएन । उपेन्द्रको मिसन पूरा नहुने देखेपछि उनी पक्षधर सांसदहरुले पनि शंकर पोखरेल नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगे ।
उपेन्द्र खेमाका तीन जनाले मन्त्रीको शपथ पनि ग्रहण गरे । तर उपेन्द्र खेमाका प्रदेश समितिले पोखरेलको सरकारमा मन्त्री भएकाहरुलाई निलम्बन गरेको विज्ञप्ति जारी गरेपनि त्यसको काउन्टरमा महन्थ–राजेन्द्र खेमाका नेताले बचाउ गरेका छन् ।
यसरी केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म उपेन्द्र यादव अल्पमतमा पर्दै गएका छन् । कारण हो उपेन्द्रको ओलीप्रतिको रिस ।
आफू सरकारमा गएर मधेशको माग पूरा गराउन सकेनन् अनि अहिले महन्थ र राजेन्द्रले सरकार बाहिर भएर पनि माग सम्बोधन गरायो भने नराम्रो सन्देश जाने डरले जसरी पनि ओलीको बहिर्गमन हुनुपर्ने तर्क गर्दै आएका छन् ।
उपेन्द्रले ओली प्रतिगमनकारी रहेको र फेरि पनि प्रतिगमनको खतरा रहेको बताउँदै ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने विभिन्न सञ्चारमाध्यमहरुमा बोल्दै आएका छन् ।
यता, महन्थ र राजेन्द्रले हाम्रा लागि सबै प्रतिगमनकारी रहेको तर जसले माग पूरा गर्छ उससँग सहकार्य हुने बताउँदै आएका छन् । मधेशको सवालमा कांग्रेस, माओवादी र एमालेको नीति एउटै रहेको विगतको अभ्यासले देखाउँदै आएको छ ।
राजनीतिक विश्लेषक देवेश झाले मधेशवाणीसँगको एक अन्तर्वार्तामा भनेका थिए, ‘जसपाले आफ्नो मुद्दाका लागि राजनीति गर्ने कि ओलीलाई ढाल्ने वा अरुलाई प्रधानमन्त्री बनाइदिने ? स्वाभाविक छ, कुनै पनि राजनीतिक दल जुन भोटबैंकको प्रतिनिधित्व गर्छ, त्यसको स्वार्थका लागि उसले राजनीति गर्नुपर्ने हुन्छ ।’
उनले भने, ‘जसपा मधेशको भोटबैंकमा आधारित पार्टी हो, त्यसैले मधेशसँग जोडिएका मुद्दाहरु अहिले उसको प्राथमिकतामा छ र हुनुपर्छ । उसले त्यही आधारमा आफ्नो राजनीतिलाई अगाडि बढाउने हो, यही नै उसको कर्तव्य र दायित्व पनि हो । जसपा अध्यक्ष महन्थ ठाकुरजी अहिले सही ट्रयाकमा हुनुहुन्छ ।’
तपाईको प्रतिक्रिया