बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालका चार जना प्रदेशसभा सदस्य मन्त्री बन्न लागेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो पक्षमा पार्नका लागि जसपाका चार सांसदलाई मन्त्री बनाउन लागिएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले एमालेका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये जसपाका विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझीले सरकारलाई समर्थन गरेको र मन्त्री बन्न लागेको स्रोतको दाबी छ । उनीहरुले अपरान्ह ४ बजे मन्त्री पदको सपथ लिने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेकी जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन् । पाण्डे पहिलादेखि नै मुख्यमन्त्री पोखरेलको पक्षमा देखिँदै आएकी थिइन् ।
तपाईको प्रतिक्रिया