लुम्बिनी प्रदेशमा पनि जसपा निर्णायक

समाचार

4/16/2021

रुपन्देही, ३ बैशाख । लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न विपक्षी दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भइरहे पनि निष्कर्षमा पुगिनसकेको माओवादी केन्द्रका सचेतक तुलराम घर्तीले बताए । केन्द्रमा जस्तै लुम्बिनी प्रदेशमा पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

जसपाले निर्णय नगर्दा पनि अविश्वासको प्रस्ताव लैजाने विषयमा टुंगोमा पुग्न नसकेको उनले बताए । जसपा अहिले तानातानमा रहेको उनको भनाइ छ ।

नेताहरुकाअनुसार मुख्यमन्त्री पोखरेल पनि जसपाका नेताहरुलाई आफनो पक्षमा तानिरहेका छन् भने काँग्रेस र माओवादी केन्द्रले पनि जसपासँग सहकार्यको लागि छलफल अगाडि बढाएका छन् । एक सांसदकाअनुसार जसपाले औपचारिक निर्णय नगर्दासम्म अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना छैन ।

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९ जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक गरी ८७ सदस्य छन् ।

तर, माओवादी केन्द्रले दल त्याग गरेका दुई सांसद रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई कारबाही गरिसकेको छ । यसअनुसार अब माओवादीसँग १८ सांसद छन् । उनीहरुको सांसद पद गुमेपछि लुम्बिनी प्रदेशसभा ८५ सदस्यीय भएको छ ।

माओवादी, कांग्रेस र जसपा मिल्दा ४३ मत हुनेछ । जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनाइसकेको छ ।

एमालेका शंकर पोखरेललाई सरकार टिकाउन पनि ४३ मत आवश्यक पर्छ । उनी सरकार टिकाउनका लागि जसपाका सांसद फकाइरहेका छन् । तथापि मुख्यमन्त्री परिवर्तन गर्न सकिने समीकरण बनेपछि मात्रै अविश्वास प्रस्ताव लैजाने माओवादी सचेतक घर्तीले बताए ।

यसअघि नै अविश्वासको प्रस्ताव ल्याउने तयारी भए पनि जसपका कारण रोकिएको थियो । कांग्रेसका सचेतक फखरुदिन खान जसपाको अनिर्णयका कारण नै अविश्वासको प्रस्ताव लैजान नसकिएको बताउँछन् । राष्ट्रिय राजनीतिमा जस्तै प्रदेशमा पनि जसपा अन्योलमा नै छ ।

जसपाको संसदीय दलका नेता सहसराम यादव केन्द्रले सरकारमा जाने या अविश्वासको प्रस्तावमा भन्ने निर्णय नगर्नुको प्रभाव प्रदेशमा पनि परेको स्वीकार गर्छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ