महोत्तरी, २१ भाद्र । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीको परिस्थितिमा नेपालको शिक्षा क्षेत्र पूर्ण रुपले ग्रस्त भएको बेला अनलाइन शिक्षा एउटा अवसर रहेको बताएका छन् ।
शनिबार प्रेस संगठन नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो धारणा राखेका हुन् ।
उनले रेडियो, टेलिभिजन र भर्चुअल (अनलाइन) माध्यमबाट भइरहेको पठनपाठनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीलाई यो कोरोनाले शिक्षा क्षेत्रमा नयाँ कुरा गर्ने एउटा अवसर पनि दिएको छ । तर यो अवसरलाई सदुपयोग गर्न स्थानीय तहबाट पहल गर्न जरुरी छ । अनलाइन कक्षालाई निरन्तरता दिनुपर्छ ।’
‘वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो, टेलिभिजन र भर्चुअल (अनलाइन) कक्षा गरी चारवटै विधिमा पठनपाठन हुनुपर्छ’, मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयमा समेत सोही विधिमा पठनपाठन हुन्छ ।’
सरकारले असार १ गते वैकल्पिक सिकाइ अभियान सुरु गरे पनि सबै विद्यालयले यसलाई लागू गराउन नसकेको उनले बताए ।
वैकल्पिक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्ने भन्दै वैकल्पिक पठनपाठन विधि विद्यालयदेखि विश्वविद्यालयसम्म लागू गर्नुपर्ने सुझाए ।
तपाईको प्रतिक्रिया