विद्युत् निर्यात गर्न भारतीय सहमतिको पर्खाइ

समाचार

7/28/2020

काठमाडौं, १३ साउन । भारतमा विद्युत् निर्यातका लागि यसै साता मन्त्रिपरिषद्बाट पूर्वस्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरण अब भारत सरकारको स्वीकृतिको पर्खाइमा छ ।

भारतको इनर्जी एक्सचेञ्ज मार्केटमा विद्युत् बिक्रीका लागि प्राधिकरणले आफ्नो प्रतिनिधि कम्पनी तोक्नेसहितका सबै प्रक्रिया पूरा गरिसकेको र भारत सरकारबाट एउटा कानुनको स्वीकृतिको पर्खाइ मात्रै रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सोमबार प्राधिकरणलाई भारतसहितका छिमेकी मुलुकमा विद्युत् बिक्रीका लागि पूर्वस्वीकृति दिएको थियो ।

विद्युत् ऐन र नेपाल विद्युत् प्राधिकरण ऐनमा छिमेकी मुलुकमा विद्युत् निर्यातका लागि सरकारको स्वीकृति आवश्यक पर्ने प्रावधान छ ।

यही प्रावधानलाई पूरा गर्न मन्त्रिपरिषद्ले प्राधिकरणलाई विद्युत् निर्यात गर्ने पूर्वस्वीकृति दिएको हो । यसले प्राधिकरणलाई भारतसहित बंगलादेशसँग पनि विद्युत् आयातनिर्यातको अधिकार रहन्छ ।

आवश्यक पर्दा तत्काल विद्युत् निर्यात गर्ने र उत्पादन बढी हुँदा रियल टाइममै निर्यात गर्न सक्ने गरी मन्त्रिपरिषद्ले प्राधिकरणलाई पूर्वस्वीकृति दिएको हो ।

नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गरिरहेको छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्य बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट विद्युत् आयात भइरहेको छ ।

केही वर्षयता नेपालले पनि उत्पादन बढी भएको समयमा बिहारलाई विद्युत् दिँदै आएको छ । तर यसलाई विद्युत् निर्यात भन्न नमिल्ने प्राधिकरणका प्रवक्ता अधिकारीको टिप्पणी छ ।

मन्त्रिपरिषद्बाट सरकारको स्वीकृति पाएपछि भारतीय एक्सचेञ्ज बजारको डे अहेड मार्केटमा पहुँच पाउने प्रक्रियाका लागि एउटा प्रावधान पूरा भएको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ