जनकपुरधाम, १९ असार । धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच झडप भएको छ । बर्थिङ्ग सेन्टर निर्माणको विषयमा विवाद भएपछि झडपको अवस्था सिर्जना भएको हो ।
विदेह नगरपालिकाको वडा नं. २ र ३ का स्थानीयबीच झडप भएको हो । वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । यता, वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने बताउँदै आएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि अश्रु ग्यास र हवाई फायर गरेर भिडमा नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले जनाएको छ ।
दुवै वडाबीच भएको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया