जनकपुरधाम, ३ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न चुनौतिका बाबजुद पनि प्रदेश सरकार गठन भएको तीन वर्षमा प्रदेशवासीले अनुभूति गर्ने किसिमको काम गरेको दावी गरेका छन् ।
प्रदेश सरकारले तीन वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री राउतले आफ्नो सरकारका बारेमा जानकारी दिने उद्देश्यले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजना गरेका पत्रकार सम्मेलनमा राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राख्दै काम गरेको बताए ।
उनले बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहेको, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका भएको बताए ।
उनले प्रदेश सरकारले गरेको कामकाजका बारेमा ११ शीर्षकमा ९३ बुँदामा सरकारको उपलब्धिहरुको बारेमा उल्लेख गदै सुशासन स्थापित गर्न प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिएका छोरीहरुको सुरक्षा, शिक्षा र सशक्तिकरणका लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताउदै यसको सकारात्मक प्रभावहरु पनि समाजकम पर्न थालेको दावी पनि गरे ।
उनले यस अवधिमा छ हजार ९०६ जना छोरीहरुलाई २० वर्ष पछि तीन लाख पाउने गरी छोरी बीमा र मुद्दति खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको जानकारी दिए ।
उनले प्रदेशमा २६ हजार ९५६ जना छोरीको तथ्याङ्क संकलन गरिएको जानकारी दिदै छोरीलाई विद्यालयमा पहुंच पुर्याउन तथा प्रोत्साहित गर्नका लागि २४१ वटा सामुदायिक विद्यालयमा १४ हजार साईकल वितरण गरिएको र चाडै २० हजार साईकल वितरण गर्ने बताए ।
तपाईको प्रतिक्रिया