वीरगन्ज, २४ साउन । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्लामा कोभिड–१९ का संक्रमितहरुको बढ्दो संख्याका कारण संक्रमितका उपचार र व्यवस्थापनको लागि हाल सञ्चालनमा ल्याइएका दुईवटा कोभिड अस्पतालको बेड संख्या प्रयाप्त नदेखिकाले कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न केन्द्रको बसेको बैठकले निर्णय गरेको हो ।
बैठकले मेडिकल कलेज उपयुक्त देखिएकाले उक्त अस्पताललाई कम्तिमा ३ सय बेडको कोभिड–१९ उपचार व्यवस्थापन गर्ने अस्पतालको रुपमा सञ्चालन गर्न लगाउने र यसमा थप पहल एवं समन्वयको लागि केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जनाए ।
नारायणी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरु संक्रमित भई आकस्मिक बाहेक नियमित सेवा प्रवाह अवरुद्ध भएकाले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।
वीरगन्ज महानगरपालिका क्षेत्रमा साउन १० गतेदेखि र सदरमुकाम बाहिर साउन १९ देखि निषेधाज्ञा लगाइएको छ । अतिआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएकोमा बैंक र खाद्य तथ किराना पसल सञ्चालन गर्न निर्णय गरिएको हो ।
तपाईको प्रतिक्रिया