वीरगन्ज, २१ बैशाख । कोरोनाको उच्च जोखिममा रहेका वीरगन्ज महानगरका सरसफाइकर्मीलाई शनिबार नागरिक स्तरबाट सम्मान गरिएको छ । कोरोनाको महामारीसँगै लकडाउनका बेला ज्यान जोखिममा राखेर सडक र नाला सरसफाइ गर्दै आएका सरसफाइकर्मीलाई खादा ओढाउनुका साथै फूलको गुच्छा दिएर सम्मान गरिएको हो ।
वीरगन्ज महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीहरुलाई उनीहरुको मनोबल उच्च राख्न आदर्शनगर ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रले सम्मान गरेको हो । आदर्शनगर चोकमा केन्द्रका पदाधिकारी, सदस्य र समाजसेवीले सरसफाइकर्मीलाई खादा ओढाएर फूलको गुच्छा प्रदान गरेर सम्मान गरेका हुन् ।
वीरगन्ज महानगरपालिकामै कार्यरत एक सरसफाई कर्मचारीमा कोरोना संक्रमण फेला परेपछि महानरका सरसफाइ कर्मचारीहरु त्रसित छन् ।
वीरगन्ज ३ छपकैया घर भएका वीरगन्ज महानगरपालिकाको सरसफाई कर्मचारीहरुका नाइकेमा बैशाख १४ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । संक्रमित ती व्यक्तिको वीरगन्जको नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।
कोरोना महामारी विरुद्धको लडाइमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई पनि सम्मान गरिने ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए ।
वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखामा १ सय ५० कुचिकार र २६ नाइके कार्यरत छन् । योसंगै महानगरको फोहोर व्यवस्थापनको ठेक्का पाएको पृथ्वी तारा एनके इन्टरनेसनल जेभीमार्फत पनि दुई सय ५० सरसफाइकर्मी कार्यरत छन ।
तपाईको प्रतिक्रिया