वीरगञ्जमा थप ४ जना संक्रमितको मृत्यु

समाचार

5/13/2021

वीरगञ्ज, ३० बैशाख । कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचार गराइरहेका थप चार जनाको मृत्यु भएको छ । संक्रमणका कारण पर्साका तीन जना र बाराका एक जनाको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलस्थित अस्थायी कोभिड अस्पतालमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ धरमपुर निवासी एक बृद्धको मृत्यु भएको छ ।

एक हप्ता पहिले अस्पतालमा भर्ना भएका ८० वर्षका बृद्धको उपचारको क्रममा ज्यान गएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमेन्द्र साहले जानकारी दिए ।

यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली टोलकी ४५ वर्षकी महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमणका कारण नारायणी अस्पतालमा उपचार गराइरहकी ती महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ निवासी ५८ वर्षकी महिलाको पनि बिहान साढे १ बजेको समयमा नारायणी अस्पतामै मृत्यु भएको छ । अस्पतालमा उपचारको लागि गत वैशाख २० गते भर्ना भएकी ती महिलामा त्यसको भोलिपल्ट गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि अस्पतालमै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० ईनर्वा बस्डिल्वा निवासी ३५ वर्षका युवकको पनि मृत्यु भएको छ । गत वैशाख २८ गते अस्पतालमा उपचारको लागि भर्ना भएका ती युवकको त्यसको भोलिपल्ट गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमणका्े पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ