वीरगञ्जमा शिख समुदायले मनाए बैशाखी

समाचार

4/15/2021

वीरगञ्ज, १ बैशाख । वीरगन्जका शिख समुदायले मंगलबार ३ सय २२ औं बैशाखी पर्व मनाएका छन् । त्यस अवसरमा गुरुद्वारा साहेबमा दैनिक शब्द कीर्तन गरिएको थियो ।

शब्द कीर्तनपछि नयाँ वर्षको शुभकामना आदानप्रदान गरिनुका साथै लंगर प्रसाद वितरण गरिएको थियो । शिख समुदायका अगुवा जसपाल सिंहकाअनुसार यसपटक प्राकृतिक प्रकोप तथा महामारीबाट सबैको रक्षाको कामना गर्दै प्रार्थना गरिएके छ । शिख समुदायले यो पर्वलाई गुरु नानक जयन्तीपछि दोस्रो ठूलो पर्वको रूपमा मनाउँछन् ।

वैशाखीलाई यो समुदायले नयाँ वर्ष मात्र नभई खालसा पन्थको जन्म दिवशको रूपमा पनि मनाउने गरेको उनले बताए ।

‘आजकै दिन सन् १६९९ मा भारतको पन्जाबको आनन्दपुरमा समुदायका दशम गुरु गोविन्द सिंह महाराजले खालसा पन्थलाई जन्म दिनुभएको थियो,’ उनले भने, ‘उहाँले आजकै दिन गुरु नानकजी महाराजले सुरुआत गरेको शिख पन्थलाई खालसा पन्थमा रूपान्तरित गर्नुभएको थियो ।’

यसै दिन भारतको विभिन्न ५ प्रान्तबाट आफ्ना ५ भक्तहरूको चयन गरी उनीहरूलाई ‘पाँच प्यारे’ को रूपमा अमृत पान गराई गुरु गोविन्दसिंह महाराजले विशेष शक्ति दिई पन्थको रक्षाका लागि आफ्नो ज्यानसमेत दिन निर्देशन दिएको सिंह बताउँछन् ।

‘यसै दिनदेखि शिख समुदायले अनिवार्य रूपमा पाँच कको पालना गर्नुपर्ने नियम पनि गुरु गोविन्द सिंहले बसाल्नुभयो,’ सिंहले भने, ‘पाँच क मा क्रमशः केश अर्थात लामो कपाल, कंघी अर्थात् काइँयो, कडा अर्थात दाहिने हातमा बाला, कृपान अर्थात् तरबार र कछेरा अर्थात कट्टु हुन्, साथै आजकै दिनबाट शिख समुदायका पुरुषको थर सिंह र महिलाको थर कौर राख्न थालिएको हो ।’ पाँच क को पालना आजसम्म पनि समुदायले गर्दै आएको उनले बताए  ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ