पर्सा, ६ बैशाख । वीरगञ्जको नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये ६३ दशमलब ५४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार त्यो दर ५० प्रतिशत थियो ।
अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार त्यो प्रतिशत ९६ जनामा ६१ जना हो । शनिबार ९० जनाको परीक्षण गर्दा जम्मा ४५ जना संक्रमण पुष्टि भएको थियो ।
प्रयोगशालामा पछिल्लोपटक गरिएको परीक्षणामा ६१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पर्साका ४९, बाराका ११ र सर्लाहीका १ जना रहेको डा. दासले जानकारी दिए । उनीहरु ५ वर्षदेखि ७२ वर्षसम्म छन् । संक्रमितमध्ये ५० पुरुष र ११ महिला छन् ।
संक्रमित पुष्टि भएकाहरुको सिटी भ्यालु १४ देखि ३५ दशमलब ५ सम्म छ । २४ भन्दा कम सिटी भ्यालु फेला पर्नु भनेको बिरामीको अवस्था जटिल नजिक भएको डा. दासले बताए ।
नारायणी अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ ।
तपाईको प्रतिक्रिया