वीरगञ्ज, १ असोज । वीरगञ्जमा जारी निषेधाज्ञा १५ दिन थपिएको छ । जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले महानगर क्षेत्रभित्र जारी निषेधाज्ञालाई असोज १५ गतेसम्म थप गरेको हो ।
संक्रामक रोग ऐन २०२० बमोजिम जारी निषेधाज्ञालाई अशोज १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यद्यपि सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सबै कार्यालय, निकाय एवम् संघसंस्थाहरुलाई बिहीबारदेखि नै सेवा प्रवाह गर्न दिइएको छ ।
महानगरमा निषेधाज्ञा जारी गरिए पनि बिहीबारदेखि नै लामो तथा छोटो दूरीका यातायात सेवा पनि सुचारु गर्न दिइएको छ । लामो तथा छोटो दूरीको यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा ५० प्रतिशत मात्रै यात्रु राख्नु पर्ने, भौतिक दूरी कायम हुने गरी एक तर्फका सिटमा एक जनामात्रै यात्रु राख्ने, सबै यात्रुले मास्क लगाउनु पर्ने, सिटमा बढी यात्रु राख्न नपाउने, गाडीको ढोकामा सेनिटाईजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क, पञ्जा, फेस सिल्ड लगाउनुपर्ने, दैनिक रुपमा गाडीलाई निसंक्रमण गर्नुपर्नेछ । यस्तो व्यवस्था लागु रहेसम्म तोकिएको भाडादर भन्दा ५० प्रतिशत बढी भाडा लिन सक्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया