वीरगन्ज, २१ कार्तिक । वीरगन्जमा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरिएको छ । वीरगन्ज महानगरपालिकाले महानगरमा बुधबारदेखि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरेको हो ।
संघ सरकारले कोरोनाको परीक्षण र उपचारसम्बन्धित व्यक्ति आफैले शुल्क तिरेर गर्नुपर्ने निर्णय गरेपछि महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य पनि बन्द गरिदिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते देशभरका सरकारी अस्पताल र प्रयोशगालालाई पठाएको पत्रमा आर्थिक रुपमा विपन्न, ज्येष्ठ नागरिक एक महिला, अपाङगता भएका व्यक्ति, सफाइकर्मी र सुरक्षाकर्मीको मात्रै लक्षण देखिएमा परीक्षण र उपचार निशुल्क गरिने उल्लेख छ ।
यी बाहेक अन्यले परिक्षण र उपचारको खर्च सम्बन्धित व्याक्ति आफैले व्यवहोर्नु पर्ने सरकारको निर्णय छ । तर मन्त्रालयको पत्रमा संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन रोक्ने व्यवहोरा उल्लेख नै नभएपनि पर्सामा वीरगन्ज महानगरपालिकाले भने कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरिदिएको हो ।
संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित पालिकाको हुन्छ । तर महानगरपालिकाले मन्त्रालयले वीरगन्जस्थित नारायणी अस्पताल र प्रयोगशालालाई पठाएकै पत्रको आधारमा बुधबारदेखि कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरेको हो ।
यसअघि महानगरमा कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खट्दै आएका २१ जना स्वास्थ्यकर्मीलाइ महानगरपालिकाको स्वास्थ्य महाशाखाले पहिले कार्यरत स्वास्थ्य संस्थामा पठाइ सकेको छ ।
तपाईको प्रतिक्रिया