वीरगन्ज । पर्साका सांसद प्रदीप यादवले वीरगन्जमा ‘अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) अस्पतालको शाखा स्थापना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।
भारतको दिल्लीमा भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा हर्षबर्धनलाइ भेटेर ज्ञापनपत्र बुझाउदै सांसद यादवले, आधुनिक उपचारका लागि विश्वमै चिनिएको एम्स अस्पतालको शाखा वीरगन्जमा पनि स्थापना गर्न आग्रह गरेका हुन् ।
दिल्लीस्थित भारतीय स्वास्थ्य मन्त्रालयमा शनिवार त्यहाका स्वास्थ्यमन्त्री डा हर्षबर्धनसँग भएको भेटवार्तामा सांसद यादवले यस्तो आग्रह गरेका हुन् ।
वीरगन्जमा एम्स अस्पताल स्थापना भए नेपालको तराई मधेस र भारतीय सीमावर्ती क्षेत्रका जनताले अत्याधुनिक उपचार र स्वास्थ्य सेवा पाउने भन्दै यादवले यसका लागि प्रदेश २ सरकारले पनि सहकार्य गर्ने बताए ।
जनता समाजवादी पार्टी (जसपा ) का केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले अहिलेको संकटपूर्ण अवस्थामा भारतीय सरकारले १० लाख डोज, कोरानोको खोप सहायता स्वरुप प्रदान गरकोमा धन्यवाद पनि दिए ।
भेटवार्तामा सांसद यादवसँगै रहेका भारतको मुजप्फरपुर लोकसभाका सांसद अजय निषादले पनि वीरगन्जमा एम्स हस्पिटलको शाखा स्थापना गर्दा नेपाल र भारतका लाखौं सिमावर्ती जनता उपचारका लागि दिल्ली धाउनु पर्ने बाध्यता समाप्त हुने बताए ।
भारतीय सतारुढ दल बिजेपीका बिहार प्रान्त उपाध्यक्ष समेत रहेका सांसद निषादले पनि वीरगन्जमा एम्स अस्पतालको शाखा स्थापनाका लागि विशेष पहल गरिदिन भारतीय स्वास्थ्यमन्त्री हर्षबर्धनलाई आग्रह गरे ।
जवाफमा भारतीय स्वास्थ्यमन्त्री हर्षबर्धनले नेपाली जनताको लागी भारत सरकार र आफूबाट हुन सक्ने सक्दो सहयोग प्रदान गर्ने आश्वासन दिए ।
तपाईको प्रतिक्रिया