वीरगन्ज, १९ भाद्र । वीरगन्जमा जारी निषेधाज्ञा थप गरिएको छ । गत साउन १० गते देखि जारी निषेधाज्ञालाई भदौ २५ गतेसम्म निरन्तरता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १८ गते मध्यरातसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र जारी निषेधाज्ञालाई भदौ २५ गते मध्यरातसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
सुरक्षा समितिले गत साउन १० देखि महानगरपालिका क्षेत्रभित्र तथा साउन १९ देखि पर्सा जिल्ला भरि लागू हुने गरी निषेधाज्ञाको निर्णय गरेको थियो । भदौ १३ यता महानगरक्षेत्रभित्र मात्र निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाकै क्रममा भदौ १९ देखि बजार तथा पसल खोल्ने व्यवस्था स्थानीय सुरक्षा समितिले गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । पसलहरु दिउँसो ११ बजेदेखि ४ बजेसम्म र तरकारी तथा फलफूल पसल बिहान ५ बजेदेखि ८ बजेसम्ममात्र सञ्चालन गर्नुपर्ने सुरक्षा समितिले निर्णय गरेको छ ।
सोमबार, बुधबार र शुक्रबार बजारमा रहेका पसलहरुमध्ये पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइनेछ । यसैगरी आइतबार, मंगलबार र बिहीबार पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइनेछ । तरकारी तथा फलफूलको हकमा रेल्वे रोडमा घन्टाघर चोक देखि २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ एकतर्फी रुपमा मात्र पसलहरु राख्ने र दुई पसल बीचको दूरी न्यूनतम १५ फिट राख्नुपर्ने छ । उक्त सडक खण्डमा तोकिएको अवधि भरी कुनै पनि मालवाहक, यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन् । यस्ता पसलहरु शनिबार पूर्णरुपले बन्द रहने छन् ।
तपाईको प्रतिक्रिया