वीरगन्ज महानगरले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्ने

समाचार

5/20/2021

वीरगन्ज, ६ जेठ । वीरगन्ज महानगरपालिकाले अटोमेटिक अक्सिजन प्लान्ट र अक्सिजन सप्लाई गर्ने पाइपलाइन स्थापना गर्ने भएको छ ।

कोरोना महामारीलाई ध्यानमा राख्दै संक्रमितको उपचारमा चाहिने अत्यावश्यक अक्सिजन प्लान्ट महानगरले स्थापना गर्न लागेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

उनले आफ्नो फेसबुकमार्फत २ करोड रुपैयाँ लगानीमा महानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने जानकारी दिएका छन् ।

महानगरले विभिन्न दातृ निकायको सहयोग र आफ्नो लगानीमा अटोमेटिक अक्सिजन प्लान्टका साथै अक्सिजन सप्लाई गर्ने पाइपलाइन जडान गर्न लागेको मेयर सरावगीले बताए । साथै, ३ सय केभिएको ट्रन्सफर्मर, २० केभिएको युपीएस पनि जडान गरिने उनले बताए ।

अहिलेको कोरोना महामारीमा संक्रमित भएर अस्पताल भर्ना भएका ५० प्रतिशत बिरामीलाई हाइफ्लो अक्सिजनको आवश्यकता परिरहेकोले महानगरले अटोमेटिक अक्सिजन प्लान्ट स्थापना गर्ने सोच बनाएको मेयर सरावगीको भनाइ छ ।

वीरगन्जको नारायणी अस्पतालमा पर्सा, बारा रौतहट, सर्लाहीसम्मका बिरामीले सेवा लिइरहेकाले उनीहरूका लागि अक्सिजन पाउन सहज होस् भनेर अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ