विराटनगरको कोभिड अस्पताल पुनः सञ्चालनमा आउने

समाचार

3/24/2021

विराटनगर, ११ चैत । विराटनगर १० स्थित प्रदेश १ सरकारको कोभिड–१९ अस्पताल पुनः सञ्चालनमा आउने भएको छ ।

विराटनगरसहित आसपासको क्षेत्रमा कोरोनाको संक्रमण देखिन थालेपछि सो अस्पताल पुनः सञ्चालनको तयारीमा छ ।

केही महिनादेखि बिरामीबिहीन बनेको सो अस्पतालमा कार्यरत्त करारका कर्मचारीको करार अवधि नथपी प्रदेश सरकारले हटाएको थियो ।

करारका कर्मचारी हटाएको केहि दिनपछि प्रदेश १ को राजधानी विराटनगरसहित आसपासमा कोरोना संक्रमण भेटिन थालेपछि सञ्चालनको लागि मन्त्रालयले छलफल सुरु गरेको हो ।

प्रदेश १ को समाजिक विकास मन्त्रालयका उपसचिव एवम प्रशासन महाशाखा प्रमुख अमिका प्रसाद चौलागाईंले दोस्रो चरणमा कोरोनाको संक्रमण देखिएपछि मन्त्रालयले सञ्चालनको तयारी गरेको जानकारी दिए ।

उनले अस्पताल सञ्चालनमा रहेका बेला बिरामी नभएका कारण प्रदेश सरकारले नियुक्त गरेका करारका कर्मचारीको म्याद नथपेको जानकारी दिए । उनले भने, ’संक्रमण देखिएपछि मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको हो ।’

प्रदेश १ मा कारोनाका बिरामी दिनादिन बढ्न थालेपछि प्रदेश सरकारले सञ्चालन गरेको सो अस्पतालमा अहिले बिरामीविहीन छ ।

अस्पतालका निमित संयोजक एपोलो कुमार भगतले मन्त्रालयका सचिवसहित टोली अस्पतालमा आएर जनशक्तिको विषयमा समेत छलफल गरेको सुनाए ।

उनले बिरामीबिहीन हुँदा हटाएको कर्मचारीलाई नै बोलाउने कि फेरि प्रक्रिया पूरा गरेर भर्ना गर्ने विषयमा छलफल भएको बताए ।

आइसीयु ८ वेड , एच डि २२ बेड र रिकोभरी १२ वेड सहितको सो अस्पतालमा कोभिड महामारीको बेला दैनिक ४० देखि ६० जना कोरोना पोजेटिभ बिरामी आउने गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ