वर्तमान सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्दत : जसपा नेता भण्डारी

समाचार

11/29/2020

जनकपुरधाम, १४ मंसिर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले वर्तमान सरकार इतिहासकै अराजक सरकार रहेको आरोप लगाएका छन् ।

विद्यापति स्मृति दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहीनता अत्यधिक रहेको बताउँदै अराजकता बढेको आरोप लगाए ।

जनताले दुई तिहाइको जनादेश दिए पनि देशमा भ्रष्टाचार र अनुशासनहीनता बढेको उनले बताए । देशमा शक्ति विकेन्द्रीकरणका लागि नेपाली जनताले संघीयता ल्याइए पनि वर्तमान सरकारको नियत शंकास्पद रहेको उनले बताए ।

‘वर्तमान राजनीतिक प्रणाली संरक्षण गर्ने जिम्मा जुन सरकारको जिम्मा छ, सोही सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्दत छ,’ उनले भने, ‘वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षडयन्त्रमा लागेको छ ।’

नेता भण्डारीले प्रदेश २ सरकारले अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसक्नु दुःखद् विषय रहेको समेत बताए ।

प्रदेश २ को नामाकरण भूगोलको आधारमा मात्र नभई भू–संस्कृतिलाई समेत समेटेर नामाकरण गर्नु आवश्यक रहेकोले सहमतिको आधारमा चाँडै नै नामाकरण गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ