विवादित भूमि अब पाठ्यपुस्तकमा

समाचार

9/18/2020

काठमाडौं, २ असोज । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखिका विद्यार्थीलाई सीमासम्बन्धी जानकारी दिन स्वअध्ययन पुस्तिका तयार पारेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुस्तक सार्वजनिक गरेका हुन । नेपालको निर्माण र एकीकरण, सिमाना जोडिएका छिमेकी मुलुकसँगको सम्बन्ध, सीमा विवाद र समाधानका उपायका सम्बन्धमा विद्यार्थीलाई जानकारी दिन पुस्तक तयार पारिएको उनले बताए । ‘सिमानाको संरक्षण र व्यवस्थापन गर्ने, राष्ट्रको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्ने सम्बन्धमा आवश्यक ज्ञान, सीप र धारणाको विकास गर्न सहयोग गर्ने अपेक्षाले पुस्तक तयार पारिएको हो,’ उनले भने । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले पुस्तकमा कालापानीसहितको नक्सा प्रकाशन र पुस्तक लेखनका लागि गत असार १९ गते स्वीकृति दिएको थियो । विभिन्न मन्त्रालय र विज्ञहरूको संलग्नतामा पुस्तक तयार पारिएको केन्द्रले जनाएको छ ।

नोभेम्बर २०१९ मा भारतले कालापानीसहितको नक्सा सार्वजनिक गरेपछि नेपालमा असन्तुष्टि बढेको थियो । सरकारले ती क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा प्रकाशित गरिसकेको छ । नेपालको पश्चिमोत्तर सीमा क्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपाली भूमिमा भारतले गरेको अतिक्रमण र यससँग सम्बन्धित ऐतिहासिक तथा अन्तर्राष्ट्रिय मान्यताअनुरूपका तथ्य, तथ्यांक र प्रमाणहरूका आधार पुस्तिकामा राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ