विषयगत शिक्षकको माग गर्दै प्रदर्शन

समाचार

1/25/2021

पर्सा, १२ माघ । ६ महिनादेखि विद्यालयमा विषयगत शिक्षक नभएको भन्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले महानगर अगाडि नाराबाजी र प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले विद्यालयमा विगत ६ महिनादेखि बिषयगत शिक्षकको अभाव रहेको र बारम्बार शिक्षक पठाइ दिन सम्बन्धित निकायसँय माग गर्दा शिक्षक आपूर्ति नगरेको भन्दै नाराबाजी र प्रदर्शन गरेका हुन ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आफूहरुको पढाइ प्रभावित भएकोले बाध्य भएर नाराबाजी र महानगरको कार्यालय अगाडि आएर प्रदर्शन गर्नु परेको बताएका छन् ।

यसका साथै उनीहरुले महानगरपालिकाका शिक्षा शाखाका प्रमुख अरबिन्दलाल कर्णविरुद्ध समेत नाराबाजी गरेका छन् ।

उनीहरुले विद्यालयमा लामो समय देखि शिक्षक अभाव रहेको बारे पटक पटक जानकारी गराउदा पनि महानगरको शिक्षा शाखाले बेबास्ता गर्दै आएको विद्यार्थीहरुको भनाइ थियो ।

विद्यालयमा बिगत ६ महिनादेखि बिषयगत शिक्षकको अभाव रहेको स्विकार गर्दै महानगरका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्णले उक्त विद्यालयमा केही दिन पहिले नै अर्को शिक्षक पठाएको दाबी गरे ।

उनले विद्यार्थीहरुले पहिलाकै शिक्षक चाहिने माग गर्दै आएको भए पनि ती शिक्षक भने त्यहाँबाट अन्यत्र सरुवा गराएर गएकोले समस्या उत्पन्न भएको बताए ।

महानगरका सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दि मिलानको कार्य चलिरहेकोले पनि केही ठाउँमा शिक्षकको समस्या आएको कर्णको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ