वीरगन्ज, ८ चैत । मधेश आन्दोलनका शहीद दिपेन्द्र साहको परिवारलाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कृषि उपकरण सहयोग गरेका छन् ।
२०६३/६४ को प्रथम मधेश आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर पर्साको विन्दवासीनी गाँउपालिका ४ मधवलका दिपेन्द्र साहले शहादत प्राप्त गरेका थिए ।
शहीद दिपेन्द्रको परिवारलाई कृषि कर्ममा सहयोग पुगोस् भनेर मन्त्री सोनलले करिब ५० हजार रुपैयाँ मूल्यको पम्पसेट प्रदान गरेका हुन् ।
मन्त्री सोनलले आफ्नो निजी खर्चमा पम्पसेट खरिद गरेर शहीद दिपेन्द्रकी आमा राजकुमारी देवी र पत्नी सिता देवीलाई दिएको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले बताए ।
शहीद पत्नी सीता देवीका अनुसार, गत माघ ५ गते शहिद दिवस मनाउन प्रदेश सरकारको आग्रहमा जनकपुर गएका बेला मन्त्री सोनलसँग भेटेर उनले सिंचाइका लागि पम्पसेट नहुँदा समस्या भएको बताएकी थिइन् ।
तपाईको प्रतिक्रिया