धनुषा, २१ माघ । मिथिला नगरपालिका–६ बसिपुलस्थित सडकमा बा.१३ च ८०३८ नम्बरको स्कारपियो गाडीले ज.६ प २८३३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने २३ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया