वीरगन्ज, ६ बैशाख । वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महानगरका विद्यालय बन्द गरिएको छ ।
कोरोना संक्रमण थप फैलिन नदिन तथा त्यसबाट बच्न वीरगन्ज महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षा बन्द गरिएको हो ।
वीरगन्ज महानगरलेसूचना जारी गर्दै फैलिँदै गएको कोरोना संक्रमणको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिका पर्ने भएकाले जोखिमको परिस्थितिलाई ध्यानमा राख्दै कक्षा १ देखि ५ सम्मको अर्को सूचना नभएसम्म वैशाख ६ गते सोमबारदेखि पठनपाठन बन्द गरिएको जानकारी गराइएको छ ।
साथै, विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ । साथै कक्षा ६ देखि ९ सम्मको अन्तिम परीक्षालाई सामाजिक दूरी कायम गर्दै साबुनपानीले हात धुने व्यवस्था, सेनिटाइजर, मास्कको सुनिश्चितता गरी तोकिएको मितिदेखि दिनको २ सिफ्टमा सञ्चालन गर्ने व्यवस्था अर्को सूचना जारी नभएसम्म मिलाउन महानगरका सम्पूर्ण विद्यालयलाई भनिएको छ ।
तपाईको प्रतिक्रिया