संक्रमितको उपचारको अनुगमन गर्न कोभिड एक्सन टीम

समाचार

5/18/2021

वीरगन्ज, ४ जेठ । वीरगन्जमा कोरोना संक्रमितको उपचारमा लापरवाही भएको गुनासो बढ्दै गएपछि युवाहरुको सक्रियतामा गठित कोभिड एक्सन टीम (क्याट ) ले अस्पतालमा अनुगमन सुरु गरेको छ ।

अस्पतालमा अनुमगनका क्रममा क्याटको टोलीले संक्रमितका कुरुवा र अस्पतालका स्वास्थ्यकर्मीलाई भेटेर उपचारको अवस्था बारे जानकारी लिने गरेको छ । त्यसक्रममा उपचार र अन्य व्यवस्थापनमा देखिएका त्रुटी सुधार गर्न क्याटको टोलीले सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराउँदै आएको छ ।

पहिलो दिन आइतबार नारायणी अस्पतालमा पुगेर अनुगमन गरेको क्याटको टोलीले सोमबार भने बाबा होटलमा नेशनल मेडिकल कलेजले संचालन गरेको कोरोना अस्थायी अस्पतालमा अनुगमन गरेको छ ।
मेडिकल कलेजको कोरोना अस्पतालमा क्याटले गरेको अनुगमनका क्रममा अधिकांश संक्रमितका कुरुवाले अक्सिजनको कमीका कारण संक्रमितको उपचारमा समस्या भइरहेको गुनासो गरेका छन् ।

अक्सिजन सकिएका बेला अस्पताल व्यवस्थापन पक्षले कुरुवालाई आफै अक्सिजन सिलिण्डरको जोहो गर्न दबाब दिने गरेको गुनासो कुरुवाहरुको रहेको क्याटका सदस्य तबरेज अहमदले बताए ।

कोरोना अस्पतालका संयोजक डाक्टर ओम प्रकाश कुशवाहाले पनि अस्पतालमा अक्सिजनको अभावका कारण उपचार प्रभावित भइरहेको बताएको अहमदले जानकारी दिए ।

डाक्टर कुशवाहाका अनुसार मेडिकल कलेजको कोरोना अस्पतालमा १२ घण्टामा २ सय सिलिण्डर अक्सिजनको आवश्यकता रहेकोमा मुश्किलले ४० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ ।

समयमा प्रयाप्त अक्सिजन आपूर्ति नहुँदा कोरोना अस्पतालमा मृत्यु दर बढी भएको कुशवाहाले बताएको अहमदले जानकारी दिए । अक्सिजनको अभावका बारेमा मङगलबार पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग छलफल गरी प्रयाप्त अक्सिजनको आपूर्तिको व्यवस्था मिलाइने अहमदले बताए ।

मेडिकल कलेजको कोरोना अस्पतालमा हाल ५० जना गम्भीर अवस्थाका संक्रमित उपचाररत छन् । ती सबैलाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको डाक्टर कुशवाहाले जानकारी दिए ।

हाल वीरगन्जका सरकारी एक र निजी १३ वटा अस्पतालमा संक्रमितको उपचार भइरहेकाले सबै अस्पतालमा अनुगमन गरिने अन्सारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ