जनकपुरधाम, १४ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नीतिमा संघीयता रहेपनि कार्यान्वयन गर्ने संघीय सरकार र उच्च कर्मचारी तन्त्रका नियत केन्द्रियता नै रहेकोले समस्या जन्माएको बताएका छन् ।
नेपाल नगरपालिका संघले जनकपुरमा आयोजना गरेको संविधान प्रदत संघ प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार अन्तर्गत प्रयोगमा आएका नीति गत समस्या र चुनौती बारे अन्तर सरकार सम्बाद कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताए ।
उनले संविधानमा सुनिश्चित गरिसकेको प्रदेश र स्थानीय तहको अधिकारलाई समेत संघीय सरकारले संविधान विपरितका ऐनहरु निर्माण गरेर संविधान प्रदत अधिकारलाई कुण्ठित गर्दै संघीयतालाई मास्ने षडयन्त्र गरेको आरोप लगाए ।
संघीयता समाप्त हुने र फेरि आफुहरुको रजाई हुने मानसिक्ता बोकेका उच्च कर्मचारीहरुले संविधान कार्यान्वयमा विभिन्न बखेडा झिकिरहेको उल्लेख गर्दै उनले भने, ‘संघीयता समाप्त हुन्छ भन्ने दिवा स्वप्न नदेखे हुन्छ । संघीयता ल्याउने मधेशी जनता र प्रदेश २ को सरकार संघीयतालाई स्थापित गर्न जुनसुकै मुल्य चुकाउन तयार छ ।
मुख्यमन्त्री राउतले बजेटको असमान बाँड फाँडले संघीयता कार्यान्वयनमै समस्या उत्पन्न गरेकाले अब स्थानीय तहलाई ३० प्रतिशत , प्रदेशलाई ३० प्रतिशत र संघ लाई ४० प्रतिशत बजेटको बाँडफाँड गराउन प्रदेश र स्थानीय तहलाई एक जुट भई अवाज उठाउनु पर्दछ ।
नगरपालिका संघ प्रदेश २का अध्यक्ष शेख वकिलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिका संघका केन्द्रिय अध्यक्ष अशोक बेञ्जो, प्रदेश सभा सदस्य राम अशिष यादव, परमेश्वर साह, अनिता यादव , जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया