जनकपुरधाम, ७ असार । नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने गरी सत्तारूढ नेकपाले गरेको निर्णयलाई लिएर प्रदेश २ को प्रदेश सभामा विरोध भएको छ ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले विवाह गरी आएको सात वर्षपछि र विदेशमा रहेको नागरिकता त्याग गरेको प्रक्रिया सुरू गरेको प्रमाणित भएपछि अंगिकृत नागरिकता दिन उपर्युक्त हुने निर्णय गरेको थियो । प्रदेश २ मा नेकपाबाहेक दलका सांसदले उक्त निर्णयको विरोध गरेका हुन् ।
शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको उनीहरूको आरोप छ ।
जनता समाजवादी पार्टीका सांसद मनिष कुमार सुमनले राज्य व्यवस्था समितिलाई प्रभावित गर्दै नेकपाले यस्तो निर्णय गरेको बताए ।
भारतको बिहार र उत्तर प्रदेशबाट २६ लाख महिला विवाह गरेर आएको र यताका हजारौं हजार महिला भारततर्फ विवाह गरेर गएको बताए । ‘यदि भारतलाई लक्षित गरेर यो कानून बनाउन लागिएको छ भने यो हाम्रो वैवाहिक र सांस्कृति सम्बन्धलाई उजाड्ने योजना मात्रै हो’ उनले भने, ‘सीता युगभन्दा पहिलादेखिको नेपाल भारतबीचको सम्बन्धलाई जोगाउनु जरुरी छ ।’
नेपाली कांग्रेस सांसद शिवचन्द्र चौधरीले विवाह गरेर आएको ७ बर्षको बीचमा बच्चा जन्मियो र त्यहीं बीचमा महिलाका पतिको देहान्त भएमा महिलाले कसरी अधिकार पाउने भनी प्रश्न गरे । उनले कुनै राजनीतिक कारणले सम्बन्ध बिथोल्ने कार्य कदापी मान्य नहुने बताए ।
२०६३ को अन्तरिम संविधानकै आधारमा वैवाहिक अंगीकृत नागरिकता उपलब्ध गराउनुपर्ने उनले माग गरे । जनता समाजवादीकी सांसद चमेली देवी दासले बच्चाका आमा बुवाको जन्म दर्ता नभए बच्चाको जन्म दर्ता समेत नबनाउने गरिएको भन्दै यो दुःख ती महिलाका सन्तानले समेत भोग्नुपर्ने बताइन् । उनले यो निर्णय नसच्चिए सम्पूर्ण महिला आन्दोलनम उत्रने बताइन् ।
जनता समाजवादी पार्टीकै सांसद रानी शर्मा तिबारीले विवाह गरेकी दिन महिलाका श्रीमान्को केहि भयो भने महिलालाई ठूलो समस्या हुने भएकाले यो निर्णय कदापी नमान्ने बताइन् ।
अर्का प्रदेशसभा सदस्य, नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले २०६३ को अन्तरिम संविधानको मर्मविपरीत गरिएको निर्णय खेदपूर्ण रहेको बताए । ‘भारतमा आधार कार्ड, रासन कार्डबाटै धेरै अधिकार प्राप्त गर्न सकिन्छ,’ उनले भने, ‘विहे गरेर आएकी महिलाले नागरिकता नलिँदै श्रीमानको निधन भएमा के गर्ने ?’
तपाईको प्रतिक्रिया