काठमाडौं, ३ पुस । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगितामा उप विजेता बनेका छन् ।
बीबीसी वनमा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनी ‘रनर अप’ बनेका हुन् ।
युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ को उपाधि जितेका छन् ।
‘म आज अत्यन्तै खुसी छु । आफैं विजेता भएको जस्तो महसुस गरि रहेको छु’ सन्तोषले भने । उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए । १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए । त्यसपछि सन् २०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन् । प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो ।
अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकारका साथै नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स ’ऐला’ पनि सर्भ गरेका थिए ।
यसअघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार सो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए ।मास्टर सेफ प्रोफेसनल्स पÞmाइनल्समा पुगेका सन्तोषलाई नेपालका धनाढ्य बिनोद चौधरीदेखि अमेरिकालाई कार्यथलो बनाएका चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बधाई दिएका छन् ।
सेफबाट उद्यमी बनेका लन्डनस्थित होलीकाउ समूहका अध्यक्ष कुल आचार्यले सेफ सन्तोष शाहलाई बधाई दिंदै उनको खानाबाट नेपाललाई युके र संसारभरि चिनाउनुका साथै नेपालका विभिन्न क्षेत्र र समुदायको खाना प्रस्तुत गरेर राष्ट्रिय एकतालाई पनि बलियो बनाएको बताए ।
तपाईको प्रतिक्रिया