रुपन्देही, १५ असार । लुम्बिनी प्रदेश सरकारको लक्ष्यअनुसार १ घण्टामा २० हजार बढी बिरुवा रोपिएको छ । राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्यअनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मूल समारोह कार्यक्रम’ नाम दिएर पश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटही देवी सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।
कोरोना महामारीकाबीच प्रदेश सरकारले १५ सय बढी व्यक्तिहरुको सहभागितामा वृक्षारोपण गरिएकोे थियो । वृक्षारोपणमा आएका अधिकांश व्यक्तिले मास्क लगाएका थिए । नलगाएका व्यक्तिहरुलाई मास्कको व्यवस्था गरिएको थियो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको बताइए पनि काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।
‘त्यो बाध्यतालाई हटाउन हाम्रै वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी छ । त्यसका लागि प्रदेश सरकार लागि परेको छ ।’ मुख्यमन्त्री पोखरेलले भने ।
कार्यक्रममा ठूलो संख्या देखेपछि मुख्यमन्त्री पोखरेलले पत्रकारहरुलाई भने ‘स्वाभाविक रुपमा पत्रकार साथीहरुको जिम्मेवारी रिपोर्टिङ हो । तर आज रिपोटिङ नभई वृक्षरोपण हो । यो कार्यक्रम सबैको हो । मैले खाली पत्रकारहरुलाई विम्ब गर्न खोजेको हुँ ।’
कार्यक्रमबारे जानकारी दिँदै उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले नेपालमै रेकर्ड कायम गर्ने गरी प्रदेश सरकारले ‘मूल समारोह कार्यक्रम’ तय गरेर वृक्षरोपण गरिएको बताइन् ।
उनले १ घण्टामा २० हजार बढी विरुवा रोप्ने गरी १५ सय व्यक्ति सहभागी भएको बताइन् । सामुदायिक वनको २९ हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणका लागि १६ वटा स्टलहरु निर्माण गरिएको थियो ।
कार्यक्रमपश्चात डिभिजन वन कार्यालय नवलपरासीका डिभिजनल अधिकृत शंकर प्रसाद गुप्ताले लक्ष्यभन्दा बढी बिरुवा रोपेको बताए । ‘१ घण्टामा २० हजार विरुवा रोप्ने लक्ष्य थियो । तर हामीले उक्त अवधिमा २० हजार ९ सय १७ वटा विरुवा रोप्यौं ।’ वन अधिकृत गुप्ताले भने ।
तपाईको प्रतिक्रिया