वीरगन्ज, १५ जेठ । बिहान–बेलुकी हातमुख जोर्ने समस्यामा परेका व्यक्तिलाई वीरगन्जको गैरसरकारी संस्था ‘सानो पाइला’ ले निःशुल्क भोजन शिविर सुरू गरेको छ ।
लकडाउनको तेस्रो दिनदेखि नै यो संस्थाले ‘फिडिङ नेपाल’ अभियानअन्तर्गत भोकै रहेका व्यक्तिलाई निःशुल्क खाना वितरण गर्न थालेको हो ।
वीरगन्जबाट सुरू यो शिविर जनकपुर र सिरहामा पनि सञ्चालन भइहेको छ । साथै, वीरगन्जका कोरोना संक्रमित बिरामीका लागि जेठ ८ देखि खाना वितरण गर्दै आएको सानो पाइलाका प्रवक्ता जयकुमार साहले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले कोराना बिरामीलाई खुवाउनुपर्ने पौष्टिक आहार भनी तोेकेका खाना नै आफूहरूले दिइरहेको उनले बताए । प्रदेश सरकारले पनि जनकपुरमा रहेका बिरामीका लागि खाना वितरणको जिम्मा यही समूहलाई दिएको छ । सन् २००६ मा सञ्चालनमा आएको ‘सानो पाइला’ ले अहिलेसम्म थुप्रै सामाजिक कार्य गरिसकेको छ ।
पहिलोपटक वीरगन्जमा सुधार केन्द्रका रूपमा सञ्चालन भएको यो संस्थाले अनाथ बालबालिकालाई शिक्षा र स्वास्थ्य सेवा दिनुका साथै बेचबिखनमा परेका महिलालाई उद्धार गरी रोजगार दिइरहेको छ ।
प्रवक्ता साहका अनुसार नेपालका २२ जिल्लामा ‘सानो पाइला’ टोली सक्रिय छन् । २०७२ को भुइँचालो बेला पनि गोरखा पुगेर त्यहाँका पीडितलाई उद्धार गरेको उनी बताउँछन् । अहिले लकडाउनको समय उनीहरूले ६ जिल्लामा काम गर्ने योजना बनाएका छन् । त्यसमा मुख्य जोड वीरगन्जमा दिइरहेका छन् ।
संस्थाले बिरामी र विपन्न समुदायलाई मात्र नभई जोकोहीलाई पनि खाना उपलब्ध गराइरहेको छ । वीरगन्ज, जनकपुर र सिरहामा कसैलाई खानाको अभाव छ वा भोकै बस्न बाध्य छन् भने आफूहरूलाई सम्पर्क गर्न उनले आह्वान गरे ।
तपाईको प्रतिक्रिया