सप्तरीमा थप १५ जना संक्रमित

समाचार

9/24/2020


राजविराज, ८ असोज । सप्तरीमा ४ नेपाली सेना, १ प्रहरी र १ अनमीसहित १५ जना कोरोना संक्रमित थपिएका छन् । नेपाली सेनाको राजविराजस्थित भिमदल गणका सेना संक्रमित भएका हुन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा भएको परीक्षणमा नेपाली सेनाका ४ जना र डाकनेश्वरी नगरपालिका–९ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा १ अनमी, १ प्रहरीसहित १० जना कोरोना संक्रमित थपिएका छन् । राजविराजस्थित प्रयोगशालाले स्वाब लिन नमानेपछि मङ्गलबार जनकपुर पठाइएको ४६ ओटा स्वाबमध्ये २८ जनाको रिपोर्ट आएको र त्यसमध्ये १ प्रहरी, १ अनमीसहित १० जना संक्रमित भएको हनुमानगर कंकालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २२३ पुगेको छ । जसमध्ये २ महिला र १० पुरुषको मृत्यु भएको छ ।

यता कोरोना संक्रमणबाट सप्तरीमा एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ । बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

ती कार्यालय सहयोगीमा भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

मृत्यु भएका पुरुष सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ