सांसद झाको अभिव्यक्ति निन्दनीय : मुखिया

समाचार

10/29/2020

रौतहट, १३ कार्तिक । रौतहट निर्वाचन क्षेत्र १ बाट निर्वाचित संघीय सांसद अनिल कुमार झाले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति रौतहटमा तीव्र आलोचना हुन थालेका छन् ।

मंगलवार रौतहटको यमुनामाई गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सांसद झाले सरकारले दिएको बजेट मेयरहरुको बाउको सम्पति नभएको र वैदेशिक रोजगारमा जाने व्यक्तिको श्रीमती पठाएको पैसाले सिनेमा हेर्दा हेर्दै अरुसँग भाग्ने गरेको सार्वजानिक रुपमा दिएको अभिव्यक्तिप्रति निर्वाचित जनप्रतिनिधिहरु आक्रोशित भएका छन् ।

यमुनामाई गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखियाले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अनिल झाको राजनीतिक संस्कार नभएको कडा प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्नो आईडीबाट वक्तव्य जारी गरेका अध्यक्ष मुखियाले एउटा डाइभर्सन बनाउन नसक्ने सांसद अनिल झाले मेयरप्रति गरेको नकारात्मक टिप्पणी अराजनीतिक संस्कारको परिचय रहेको ठहर गरेका छन् ।

उनले यस्तो गैर जिमेवारीपूर्ण अभिव्यक्ति दिने नेतालाई रौतहटका जनताले प्रतिकार गर्नुपर्ने धारणा राख्दै प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष मुखियाले सांसद झालाई मुर्ख सांसदको संज्ञा दिदै घटिया शब्दको प्रयोग गर्ने पूर्वमन्त्री झालाई निर्वाचन क्षेत्र नम्बर १ का जनताले प्रतिकार गर्ने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो गाउँपालिकामा भएको भए त्यहीं बेला संगठित रुपमा प्रतिकार गरेर देखाईदिने भन्दै अब संगठित रुपमा नै प्रतिकार गर्ने घोषणा गर्दै अध्यक्ष मुखियाले आफ्नो गाउँपालिका भित्रमा पुनः कार्यक्रम गरेर देखाउन सांसद झालाई खुल्लेयाम चुनौती समेत दिएका छन् ।

सांसद झाको कार्यक्रममा १५ देखि २० जना आम जनता सहभागी हुने हुँदा लाजमर्दो कुरा रहेको बताउँदै मुखियाले २० जना सहभागी रहने कार्यक्रममा सम्बोधन गर्दै यस्तो घटिया अभिव्यक्ति दिनु निन्दनीय रहेको छ ।

मुखियाले रौतहटमा सबैभन्दा असफल सांसदको रुपमा झा रहेको दावी गरे । यस्तो किसिमको अभिव्यक्ति अबदेखि नदिन सुझाव दिँदै अध्यक्ष मुखियाले सुधार नगरेमा कुन बेला तपाइको कार्यक्रममा प्रतिरोध हुन्छ थाहा पनि हुँदैन भन्दै सचेत गराएका छन् ।

यस्तै वरिष्ठ पत्रकार एवं लेखक श्रीमन नारायण मिश्राले निर्वाचित जनप्रतिनिधिलाई बोल्नु पर्ने शब्दको चयन गर्न सावधानी अपनाउनु पर्ने भन्दै सांसद झाको अभिव्यक्तिको घुमाउरो पारामा निन्दा गरेका छन् । आफ्नो सामाजिक संजाल फेसबुक आईडीमा लेख्दै मिश्राले सार्वजनिक जीवनमा लोकलाजको ख्याल गर्नु पर्ने सुझाव समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘स्थानीय निकायका जनप्रतिनिधि, घरदेखि बाहिर काम गर्ने कर्मचारी, मजदुर या कुनै पनि स्तरका पेशाकर्मीका सम्मान गर्नु पर्दछ ।’

देवी जस्तो आमा र बहिनीको चरित्र माथि लांछना लगाउनु घोर निंदनीय रहेको भन्दै रौतहट क्षेत्र नम्बर १ प्रतिनिधित्व गलत, अयोग्य र गैरजिम्मेवार व्यक्तिको हातमा गइसकेको टिप्पणी गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ताले सांसद झाको अभिव्यक्ति गैरराजनीतिक भएकोले घोर निन्दा गरेका छन् । युवा नेता गुप्ताले सांसद झाको संसदीय कोषको रकमको छानविन गर्नु पर्ने मांग गर्दै निर्माणाधीन अस्पतालमा व्यापक रकमको दुरूपयोग भएकोले त्यसको अनुगमन निरीक्षण गर्नु पर्ने सरकारसँग माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ