वीरगञ्ज, २१ मंसिर । कोरोना महामारीका कारण बन्द गरिएको नेपाल–भारत सीमानाका खुलाउन माग गर्दै वीरगञ्जमा धर्नासहितको आन्दोलन सुरु भएको छ ।
पर्साको नाका खुला गर्न माग राख्दै वीरगन्ज नाकामा नेपाल–भारत खुला सीमा संवाद समूहले शनिबार एक घन्टा धर्ना दिए । विगत आठ दिनदेखि नाकामा उनीहरूको धर्नाका कार्यक्रम भइरहेका छन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि बन्द गरिएको नाका मंसिर मसान्तसम्म नखुल्ने भएको छ । भारतका तर्फबाट नाका खुला गरिए पनि नेपालतर्फ बन्द नै छ । आन्तरिक रूपमा लकडाउन खुले पनि सरकारले अन्तर्राष्ट्रिय सीमानाका मंसिर मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि नाका बन्द हुँदा सीमाक्षेत्रमा रहेका दुवै देशका नागरिकलाई समस्या भइरहेको भन्दै ठाउँ–ठाउँमा धर्नासहितका आन्दोलन हुन थालेको छ । सीमा बन्द रहेका कारण सामाजिक, आर्थिक, साँस्कृतिक सम्बन्धमा सीधै असर परिरहेको धर्नामा सहभागी जसपा कि नेतृ मुन्नी श्रीवास्तवको भनाइ छ ।
केही दिन धर्ना तथा अनशनका कार्यक्रममार्फत सरकारलाई सीमा खुला गर्न ध्यानाकर्षण गराउने, तर त्यसबाट पनि माग पूरा नभए सशक्त आन्दोलन गर्ने उनीहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया