काठमाडौं, १२ बैशाख । कोरोना भाईरसको संक्रमण सीमा क्षेत्रबाट भित्रिन नदिन प्रदेश ५ का भारतसँगको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । प्रदेश ५ का सीमावर्ती जिल्लाहरू पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लाका सीमा क्षेत्रलाई पूर्ण रूपमा शील गरिएको छ ।
सीमा क्षेत्रका विभिन्न स्थानहरूमा अस्थायी त्रिपाल राखी सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट खडा गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा प्रवन्ध, स्थायी तथा अस्थायी सुरक्षा पोस्ट र सीमा अवस्था अवलोकनका लागि प्रदेश ५ सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी नारायणदत्त नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलसहित कपिलवस्तुको सीमा क्षेत्र निरीक्षण गरेको छ ।
सीमा क्षेत्रको हरेक ५ सय मीटरको दूरीमा २४ घन्टे सुरक्षाकर्मी खटाइएको छ। सीमा क्षेत्रमा अपनाइएको उच्च सतर्कताका कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने अवस्था पूर्ण रूपमा रोकिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । सामान्य अवस्थामा प्रदेश ५ का तराईका ६ जिल्लामा ६ वटा गण, ३ वटा भन्सार सुरक्षा गुल्म र २८ वटा बीओपी रहँदै आए पनि सीमा क्षेत्रमा हाल २ सय ५० बढी स्थानमा सुरक्षाकर्मीहरूको पोस्ट खडा गरिएको छ ।
सशस्त्र प्रहरीको प्रदेश ५ को बिन्ध्यबासिनी बाहिनी र थप अन्य बाहिनीबाटसमेत सशस्त्र प्रहरी ल्याएर सीमा क्षेत्रलाई पूर्ण रूपमा शील गरिएको छ । सीमा क्षेत्रमा भारततर्फको गोरखपुर र लख्खीपुरस्थित भारतीय सीमा सुरक्षाका डिआइजी तहका सुरक्षा अधिकारीसँग पनि नियमित संवाद र समन्वयबाट प्रदेश ५ का नेपाल–भारत सीमामा दुवै देशका सुरक्षाकर्मीहरूबाटै संयुक्त निगरानी बढाइएको छ ।
तपाईको प्रतिक्रिया