काठमाडौं, ६ असार । भारतले नेपालतर्फ सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारीहरू नै सीमावर्ती क्षेत्रमा बाक्लो रूपमा निरीक्षणमा आउन थालेका हुन् । एसएसबीले गस्ती पनि यसअघिको तुलनामा बढाउँदै लगेको छ ।
गत जेठ ३० मा सीमा सुरक्षार्थ सर्लाहीको संग्रामपुरमा खटिएको नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) को कारबाहीमा भारतस्थित सीतामडीका एक जनाको मृत्यु भएपछि एसएसबीको पैदल र सवारी गस्ती बाक्लिएको हो ।
भारतले ५ सय ३० बोर्डर आउटपोस्टमार्फत सीमा सुरक्षा गर्दै आएकोमा थप फौजलाई पनि गस्तीमा उतारेको सशस्त्र प्रहरी बलका एक बीओपी कमान्डरले बताए । सशस्त्र प्रहरीको भने भारतीय सीमातर्फ १ सय २२ स्थानमा बीओपी स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले पनि सीमावर्ती क्षेत्रमा आफ्नातर्फबाट चुस्त र प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न मातहत फौजलाई निर्देशन दिएको छ । सशस्त्रले सहकार्य गरेर आवश्यकता अनुसार संयुक्त गस्ती गर्न पनि बाहिनीपतिहरूलाई निर्देशन दिएको छ ।
कपिलवस्तुसँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको बढनी बीओपी र बढनी प्रहरी चौकीले संयुक्त रूपमा सीमामा निगरानी र पेट्रोलिङ बढाएका छन् ।
यस्तै, बाँके–बर्दिया सीमामा भारतको सुरक्षा गतिविधि बढेको छ । तर नेपाल–भारतका सुरक्षाकर्मीले भने नियमित संयुक्त सुरक्षा गस्तीलाई निरन्तरता दिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया