काठमाडौं, २८ जेठ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा ५ सय स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने लक्ष्यअनुरुप कामलाई तिब्रता दिइएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा मन्त्री थापाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट निर्माण गर्ने कार्यलाई तिब्रता दिइएको बताएका हुन् ।
सीमा सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बढाउन लागिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा ५९ वटा बिओपीको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन भएको बताए ।
उनले भने– ‘सशत्र प्रहरी बलको बोर्डर आउटपोस्ट ५ सय स्थानमा स्थापना गरीने लक्ष्य राखिएको छ । यस अन्तर्गत प्रथम चरणमा २ सय २१ वटा बोर्डर आउटपोस्ट स्थापना कार्य अगाडि बढिरहेको छ । आजका मिति सम्म दार्चुलाको छाङरुङ र हुम्लाको हिल्चा समेत गरी १ सय २९ स्थानमा बोर्डर आउटपोस्टको स्थापना भइसकेको छ । आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउटपोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।’
कोभिड–१९ को प्रवेश रोकथामका लागि १२ सय १३ स्थानमा बिओपी विस्तार गरिएको जानकारी समेत उनले दिए । उनले सीमा सुरक्षाका लािग नेपाल र छिमेकी मुलुकका अधिकारीहरुबीच विभिन्न समयमा नियमित रुपमा समन्वय गर्ने र संयुक्त बैठक बस्ने गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया