सीमामा ९२५ नाकामा सुरक्षाकर्मी परिचालन

समाचार

4/10/2020

काठमाडौ, २८ चैत । नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ ।

त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् । ती मध्ये नौ सय २५ स्थानमा सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मन्त्रालयका अधिकारीका अनुसार, सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ ।

बोर्डर (सीमा) विओपी सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी वलको पाँचहजार जनशक्ति फिल्डमा खटिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले भारतमा रहेका नेपाली लुकिछोपी चोरबाटो प्रयोग गरी आउन थालेपछि थप कडाई गरिएको बताए । केही दिनअघि बैतडीमा चोरबाटो प्रयोग गरी आएका एकसय ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्रालयले पनि सीमा नाकामा २४ घण्टा सुरक्षा पहरा दिन संयुक्त सुरक्षा गस्ती, स्थानीय प्रशासनलाई उच्चसुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।

गृह प्रवक्ता केदारनाथ शर्माले दुबै देशका सरकारबीच भएको सहमति अनुसार सीमा कडाई गरिएको स्पष्ट पारे ।

नेपालले आन्तरिक स्वास्थ्य सतर्कता तथा उपचार सेवा विस्तार गरेसंगै नेपाल–भारत सीमा कडाई गर्दा कोरोना भाइरस महामारीको संक्रमणबाट नेपाल सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ