बारा, २८ मंसिर । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्न स्थानीयले सरकारसँग माग गरेको छ । जीतपुर सिमरा सार्वजनिक सरोकार समितिले स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पतालमा स्तरोन्नती गर्न माग गरेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिका मार्फत सरोकार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई माग पत्र बुझाएको छ ।
एक लाख भन्दा बढी जनसंख्यासहित सिमराको विकास भइरहेकोमा प्राथमिक स्वास्थ्य केन्द्र समेत प्रभावकारी रुपमा सञ्चालन हुन सकिरहेको छैन । औद्योगिक क्षेत्रमा हुने घटनाहरू र राजमार्गमा हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न समेत समस्या हुने गरेको छ । कतिपय बिरामीहरुलाई उपचारका लागि वीरगञ्ज, हेटौंडा तथा चितवनतर्फ लैजाने क्रममा बाटोमै ज्यान समेत जाने गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा वर्थिङ सेन्टर समेत राम्रोसँग सञ्चालन हुन नसकेकोले गर्भवती महिलाको जाँच र सुत्केरी गराउन निजी अस्पताल वा वीरगञ्ज लगायत अन्य सहरमा जानुपर्ने बाध्यता छ । राज्य पुर्नसंरचना गर्दा उपमहानगरपालिकामा अनिवार्य २०० शैय्याको अस्पताल हुनुपर्ने भनिएपनि जीतपुर सिमरामा सरकारी अस्पताल नै छैन ।
सिमरामा २४ सैघण्टा आकस्मिक सेवा दिन सक्ने विशेषज्ञ चिकित्सक सहितको सेवा दिन सक्ने २५ शैय्याको सरकारी अस्पताल सञ्चालनमा ल्याउनु आवश्यक देखिएको सरोकार समितिका संयोजक मनोज पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया