राजविराज, १० मंसिर । सीमा सिलका नाममा सर्वसाधारण र सवारी आवागमन रोकिँदा नाकाहरूबाट तस्करी भने बढेको छ । जिल्ला समन्वय समिति सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले अहिलेको अवस्थामा सीमा सिल ‘ताला लागेको तर ढोका खुला’ जस्तै रहेको बताए ।
प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले भने, ‘एकातिर सरकारले सीमा सिल गरेको भन्छन् अर्कोतर्फ दिनरात नभनीकन तस्करी भइरहेको छ । जसका कारण राजस्व संकलन कम भएको छ ।’ शान्तिसुरक्षासँगै सीमा क्षेत्रका सर्वसाधारणको दैनिक जीवनयापनसित जोडिएकाले लामो समय नाका बन्द गर्न नहुने उनले बताए ।
राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सीमा सिल हुँदा मध्यम वर्गीय परिवार समस्यामा परेको बताउँदै खुलाउनका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने आवश्यकता औंल्याए । ‘नाका अहिले तस्कर र प्रहरीको ठेक्काजस्तै भएको छ,’ सीमावर्ती छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले भने, ‘सर्वसाधारणका लागि सीमा सिल छ । तस्करका लागि खुल्लै छ ।’
नाका सिल हुँदा सर्वसाधारण मूल बाटो कम जाने भएकाले दिनदहाडै तस्करी भइरहेको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको आरोप छ । ‘सीमा सिलले सर्वसाधारण जनतालाई सास्ती भयो, तस्करीले बढावा पायो । सीमा खोलिनुपर्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया