काठमाडौं, १५ मंसिर । नेपाल–भारतको खुल्ला सीमालाई सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीको नाममा एकतर्फीरुपमा बन्द गरेको छ । भारत सरकारले आफ्नो तर्फबाट सबै नाका खुला गरेपनि नेपाल सरकारले अहिलेसम्म बन्द नै राखेको हो ।
यसको असर भारतसँग खुला सीमा रहेको तराई मधेशका नागरिकलाई परेको छ । लामो समयदेखि भारतसँगको सीमा बन्द हुँदा तराई मधेशका जनता कठिनाइ भोग्न वाध्य भएका छन् ।
भारतसँगको सीमाना खुला गर्न माग गर्दै तराई मधेशका स्थानीयबासीले दिनहुँ सीमा क्षेत्रमा धर्ना दिन थालेका छन् । नेपाल भारत खुला सीमा संवाद समूहको आयोजनामा धर्ना कार्यक्रम सुरु गरिएको हो ।
यस समूहको नेतृत्व जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजीव झाले गरेका छन् । झाका अनुसार समूहले सीमा खोलाउन सुरु गरेको शान्तिपूर्ण धर्नामा सीमावर्ती क्षेत्रका जनताहरुको समेत उल्लेख्यरुपमा सहभागिता रहँदै आएको छ ।
भारतसँगको सीमा तत्काल खुला गर्न संवाद समूहले सरकारसँग माग राखेको छ । ‘भारतले एकतर्फी सीमा नाका खुला गरेको छ तर नेपालले भने सीमा बन्द गरेको छ । यसबाट तराई मधेशका जनतालाई ठूलो कठिनाइ उत्पन्न भएको छ,’ झाले भने ‘सीमा नाका बन्द हुँदा तराई मधेशका जनताका रोजगार, जनजीवन,औषधी उपचारमा समेत प्रभाव परेको छ ।’
सीमा क्षेत्रका स्थानीयबासीहरुको एक अर्को देशमा वैवाहिक सम्बन्ध छ । सीमा क्षेत्र बन्द हुँद पारिवारिक भेटघाट तथा मिलनमा समेत विचलन आएको धर्नाकारीहरुको भनाइ छ । धर्ना कार्यक्रमलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरुले भारतसँगको सीमानामा काँडेतार लगाउनु पर्ने आवाज कहिलेकाँही उठाउने गर्छन् । यसबाट सरकारले स्थायी रुपमै सीमा बन्द गर्न खोजेको हो कि भन्ने आशंका स्थानीयबासीहरुको छ ।
स्थायी रुपमा सीमा बन्द गरेमा मधेशका जनताको समस्या झन् कष्टकर हुने झाले बताए । करिब ९ महिनादेखि नेपालले भारत लगायत अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ ।
तपाईको प्रतिक्रिया