विराटनगर, ९ चैत । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले दुई देशबीचको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा गर्ने सवालमा कुनै पनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
‘सीमा क्षेत्रको दशगजा हाम्रो पनि गौरवको विषय हो । सीमाको रक्षा गरेर आफ्नो भूमिको संरक्षण गर्ने जिम्मेवारी पाउँदा सशस्त्र प्रहरीले गर्व महसुस गरिरहेको छ,’ उनले भने, ‘त्यही भएकाले सीमा सुरक्षाका सवालमा कुनै पनि सम्झौता हुने छैन । आफ्नो जिम्मेवारी पूरा गर्न सशस्त्र सधैँ संवेदनशील छ ।’
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीमा स्थापना गरिएको नयाँ बीओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन कार्यक्रममा बोल्दै आइतबार दाहालले सीमाको सुरक्षाका लागि कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पारे ।
उनले सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय, स्थानीय सरकार, सीमा क्षेत्रका बासिन्दा र सरोकारवाला लगायतसँग समन्वय गरेर सीमा क्षेत्रमा कडा सुरक्षा दिइरहेको बताए ।
‘सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी दुई देशबीचको अन्तर्राष्ट्रिय सीमाको रक्षा गर्ने हो,’ उनले भने, ‘यस विषयमा आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सशस्त्रले अहोरात्र मिहिनेत गरिरहेको छ।’
डीआईजी दाहालले सीमाको रक्षा, सीमा अपराध र विभिन्न गतिविधी नियन्त्रणमा सशस्त्रलाई सबैको सहयोग आवश्यक रहेको पनि बताए ।
तपाईको प्रतिक्रिया