काठमाडौं, १० असार । नेपाल–भारतबीच अहिले उत्पन्न भएको सीमा विवादलाई कुटनीतिक तरिकाले टुंगो लगाउन विश्व हिन्दू महासंघले आग्रह गरेको छ ।
महासंघका महासचिव अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गरी ‘परापूर्वकालदेखि स्वतन्त्र रहँदै आएको हाम्रो देश नेपालमा कहिले पनि विदेशी झण्डा फहराएको छैन । नेपाल अधिराज्यको एकीकरणदेखि नै आफ्ना निकटतम् छिमेकी तथा टाढाका मित्रहरूसँग समेत हामीले सधैं समदूरीको सन्तुलित कूटनीति अपनाउँदै आएका छौं । साँध सीमाना जोडिएका देशहरूका बीचमा सीमा विवाद हुनु स्वभाविक हो ।’ भनेकी छन् ।
उनले सीमा विवादलाई अनावश्यक रूपमा व्याख्या गरी यसबाट सम्बन्धित मित्र राष्ट्रहरुसँग आँच आउने अभिव्यक्तिले हाम्रो धर्म, संस्कृति, प्रथा, परम्परा र आर्थिक, सामाजिक, मूल्यमान्यता, रीतिरिवाज, जीवनशैली धार्मिक तथा आध्यात्मिक एकतामा समेत खलल पुग्न सक्ने भएको हुनाले यस्तो विवादलाई कुटनीतिक तरिकाले टुंगो लगाउन नेपाल र भारत दुवै तयार हुनुपर्ने बताएकी छन् ।
समय–समयमा नेपालका नेतृत्व वर्गहरूले गरेका सन्धि, सम्झौता सद्भाव र मित्रतालाई ख्याल गर्दै पशुपतिनाथदेखि गोरखनाथ, विश्वनाथ हुँदै तिरुपतीसम्म, डोलेश्वर–केदारनाथ, लुम्बिनीबोधगया, जनकपुर–अयोध्यासम्मको तथा शंकराचार्यका चारै मठहरूको नेपाल र भारतसँग संसारभरिका ॐकार परिवारको अविछिन्न धार्मिक तथा आध्यात्मिक एकता रहेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्, ‘अतः यस्तो आत्मिक भावनात्मक तथा प्रगाढ सम्बन्धलाई अक्षुण राख्ने कार्यमा भारतले वार्ताको सहज माध्यमबाट अगाडि बढ्न र बढाउनका निम्ति उपयुक्त समय र परिस्थितिको निर्माण गरोस् भन्ने हाम्रो चाहना रहेको छ ।’
हाल लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादका कारण नेपाल–भारत पारस्परिक सम्बन्ध तथा धार्मिक आध्यात्मिक एकतामा आँच आउन नदिन दुवै सरकारबीच समझदारी कायम गरी समन्वायात्मक रूपमा भूमिका निर्वाह गरी अगाडि बढ्न उनले अनुरोध गरेकी छन् ।
तपाईको प्रतिक्रिया