रौतहट, १० मंसिर । तीन दिनअघि गौर नगरपालिका–८ का सरोजकुमार साह औषधि किन्न सीमावर्ती भारतको सीतामढी बजारमा जान लागेका थिए । कोरोनाको जोखिमका कारण सरकारले सीमा सिल नहटाएको भन्दै सुरक्षाकर्मीले रोके । उनी मूल बाटोबाट त फर्किए तर भन्सार चौकीबाट पश्चिमपट्टिको गोरेटोबाट पारि गए, औषधि किनेर आनन्दले फर्किए ।
‘गएको फागुनमा बुबाको पेटको समस्याको उपचार पटनामा गरिएको थियो, नियमित औषधि चाहिन्छ । त्यो वारि पाइँदैन, सीतामढी नै पुग्नुपर्छ,’ साहले भने, ‘सीमा सिल सरकारले हटाएन, वारिपारि गर्न बाटो थुप्रै छन । कसले छेकेर सक्ने ?’ सीमावर्ती बस्तीका बासिन्दा किनमेल र उपचारका लागि पारि नै नपुगी दैनिकी चल्दैन । सीमा सिल भए पनि आउजाउ रोकिएको छैन । तर त्यसरी आउजाउ गर्नेलाई सुरक्षाकर्मीले केरकार गर्लान् भन्ने डर भइरहने अनुभव छ ।
कोरोना संक्रमण रोकथामका लागि लगाइएको लकडाउन हटिसकेको छ । तर, नेपाल–भारत सीमाका मूल नाकाहरूबाट सवारीसाधन आवतजावत गर्न दिइएको छैन । दुवै देशका सरकारले सीमा खुला गरेको घोषणा नगरेसम्म निर्धक्क आउजाउ गर्ने अवस्था छैन । यसले गर्दा वारिपारि जोडिएको सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि प्रभावित छन । बिहेबारी रोकिएका छन । कतिपयले आफन्त र इष्टमित्र भेटघाट गर्न पनि पाएका छैनन । यही कारण सीमानाका खुलाउन माग गर्दै १० दिनदेखि सदरमुकाम गौरस्थित भन्सार गेटनजिक स्थानीय धर्नामा पनि छन । धर्नामा जनप्रतिनिधिहरूले अगुवाइ गरेका छन् ।
‘हाम्रो बजारमा खाद्यान्नलगायतका सामानहरू भनेको जस्तो पाइँदैन । उपचार पनि यहाँभन्दा पारि नै राम्रो हुन्छ,’ गौर नगरपालिकाका मेयर अजय गुप्ता भन्छन्, ‘हरेक हिसाबले सीमा क्षेत्रका बासिन्दालाई कठिनाइ छ । सम्बन्धको पनि कुरा आउँछ । औषधि उपचारदेखि किनमेल गर्न नपाउँदै झनै पीडामा छन ।’ सीमा वारिपारिको सम्बन्धमा रोक लगाउँदा दैनिक जीवनमा प्रतिकूल प्रभाव परेको भन्दै सीमा क्षेत्रका बासिन्दाहरू आक्रोशित छन । उनीहरू मुख्य मार्ग भएर वारपार गर्न पाउनुपर्ने माग गर्छन । सबैभन्दा धेरै समस्या बिरामीको उपचार गर्न नपाएर हुने गरेको नागरिक समाजका अगुवा जगन्नाथ केशरीले सुनाए । ‘रहरले सीमानाका खोल्नु भनेका हैनौं । बाध्यता धेरै छन्,’ उनले भने, ‘हरेक कुरा उतै निर्भर पर्नुपर्छ ।’ सीमावर्ती नेपाली बस्तीका बासिन्दा रोजगारी, किनमेल र उपचारका लागि सीतामढी, पटना, दरभंगा, दिल्ली, मुम्बईसम्म पुग्छन । गौर भन्सार क्षेत्रमा नेपालतर्फका धेरैजसो रेडिमेड पसलहरू भारतीय ग्राहकमा निर्भर छन । पारि खाद्यान्न र वारि रेडिमेट सामानको निकै कारोबार हुन्छ । मूल नाकाबाट आउजाउ घट्दा यतिबेला सुनसान रहेको स्थानीय व्यापारी राधेश्याम साहले गुनासो गरे ।
नेपाल–भारत सीमानाका खोल्न माग गर्दै महोत्तरीमा पनि धर्ना र दबाबका कार्यक्रम सुरु भएका छन । लामो समय नाका नखुल्दा जनजीवन कष्टकर बनेको र भारतका नागरिकसँग सम्बन्ध विस्तार हुन नसकेको भन्दै नाका खुलाउन स्थानीयले दबाब सुरु गरेका हुन । खुला सीमा मञ्च महोत्तरीले सोमबार कटैया नाका खुलाउन तीन घण्टा धर्ना दिएको छ । दिउँसो १ बजेदेखि शान्तिपूर्ण धर्ना दिइएको मञ्चका सदस्य रोशनसिंह रानाले बताए । ‘सीमाबन्दी हटाइनुपर्छ । हाम्रो जनजीवन एकअर्कासँग गाँसिएको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया