काठमाडौं, २१ चैत । कोरोना भाइरस (कोभिड–१९)को महामारी दिनानुदिन झन् बढ्दै गइरहेको अवस्थामा सरकारलाई अझ गम्भीर र जिम्मेवार बन्न राष्ट्रिय जनता पार्टी नेपालले ध्यानाकर्षण गराएको छ ।
राजपा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस माहामारीबाट जोगिन तथा लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै वस्न सम्पूर्ण नागरिकसँग अपीलसमेत गरेका छन् ।
संयोजक भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो महामारीको वेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुस्खद र गैरजिम्मेवारीको पराकाष्ठा हो त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले तत्काल सत्यतथ्य छानबिन गरि दोषीहरु माथि कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं ।’
नेपाल र भारतको सीमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल ती नागरिकहरुलाई स्वदेश ल्याउन वातावरण बनाउने र स्वास्थ्य चेकजाँच गरि शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्न संयोजक भण्डारीले आग्रह गरेका हुन् ।
उनले अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिकसम्म पुर्याउने निर्णय सरकारले गरे पनि आजको दिनसम्म पनि कार्यान्वयन नभएको हुनाले केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन र तत्तपरता देखाउन ध्यानाकर्षण गराएका छन् ।
तपाईको प्रतिक्रिया