काठमाडौं, २९ मंसिर । वर्षौंदेखिको बक्यौता माग गर्दै पुनः काठमाडौंकेन्द्रित आन्दोलन थालेको उखु किसान संघर्ष समितिले अब वार्ता नगर्ने जवाफ दिएको छ ।
उखु किसानको आन्दोलनमा जनसमर्थन बढ्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्ताका लागि आउन आग्रह गरेको थियो ।
तर उखु किसानले अब उधारोमा सम्झौता नगर्ने भन्दै सरकारलाई जवाफ फर्काएको छ । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले उद्योग मन्त्रालयबाट वार्ताका लागि आउन आग्रह गरिएपनि अब वार्तामा नबस्ने जवाफ फर्काएको मधेशवाणीलाई बताए ।
उनले भने, ‘अब हामी वार्ता गर्दैनौं । गत वर्ष पनि सरकारले उखु किसानसँग पाँचबुँदे लिखित सहमति गरेको थियो तर कार्यान्वयन भएन । अब कुन आधारमा फेरि वार्तामा जाने वा सहमति गर्ने ?’
‘सरकारले उखु किसानको बक्यौता मिल मालिकबाट दिलाउनका लागि आफ्नो आन्तरिक गृहकार्य गरोस्, हामीले पाउने सुनिश्चित भएपछि मात्रै आन्दोलन रोकिन्छ ।’ मिश्रले मधेशवाणीलाई बताए ।
देशभरिका उखु किसानहरुले मिल मालिकहरुबाट करिब सय करोडभन्दा बढी रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
तपाईको प्रतिक्रिया